माघ २५ः म्याग्दीको बेनी नगरपालिका क्षेत्रमा सञ्चालित ४२ सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन इन्टरनेट जडान कार्य सुरु भएको छ ।
बेनीबजारको बसपार्क क्षेत्रमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट जडान भएपछि राउटरको स्विच अन गरेर बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले जडान कार्यको औपचारिक उद्घाटन गर्नुभयो । विद्यालयमा आवश्यक पर्ने इमेल तथा इन्टरनेट प्रयोगका लागि दूरसञ्चार प्राधिकरणको आर्थिक सहयोगमा जोडिएको इन्टरनेटले सहज हुने नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको समयमा भर्चुअल माध्यमबाट विद्यार्थीहरुलाई दैनिक रुपमा कक्षा लिन र शिक्षकलाई पढाउनका लागि अहिले जोडिएको इन्टरनेटले सहज हुने उहाँले बताउनुभयो । इन्टरनेट जडान कार्यले शिक्षक तथा विद्यार्थीलाई शिक्षण सिकाइ क्रियाकलापमा धेरै सहज हुने अपेक्षासमेत गरिएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार विकास कोषले ब्रोडब्यान्ड इन्टरनेट सेवाको स्तरोन्नति तथा विस्तार गर्ने कार्यक्रमअन्तर्गत स्थानीय तहसँग समझदारी गरेर सामुदायिक विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएको हो ।
प्राधिकरणले बेनी नगरपालिकासँग सम्झौता गरेर नगरपालिकाभित्रका ४२ वटा विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराउन लागेको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । बालमन्दिर आधारभूत विद्यालयमा इन्टरनेट जडान खर्चसहित २ वर्षको २८ हजार रुपैयाँ पनि प्राधिकरणले उपलब्ध गराएको उहाँको भनाइ छ ।