फागुन १ः आगामी चुनावसम्मै सत्ताधारी गठबन्धन कायम रहन्छ वा टुट्छ साझा चासोको विषय बनेको छ।
सरकारको नेतृत्व गरिरहेको र गठबन्धनको सबैभन्दा ठुलो दल नेपाली काँग्रेसभित्र चुनावसम्मै गठबन्धन आवश्यक छ वा छैन भन्नेमा विभिन्न मतहरू छन्।
प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले गठबन्धन कहिलेसम्म भन्नेबारे केही बोलेका छैनन्। १४औँ महाधिवेशन मार्फत देउवापछि पार्टीको दोस्रो शक्ति बनेर उदाएका नेता शेखर कोइरालाले आगामी चुनावमा एक्लै लड्नुपर्ने प्रस्ताव पार्टीमा राखेका छन्।
उनका स्वकीय सचिव दिनेश थपलियाले भने ‘शेखर दाजुले आगामी चुनावमा काँग्रेस एक्लै भिड्नुपर्छ भन्नुभएको छ।’ नेता कोइरालाले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पनि चुनावमा एक्लै भिड्नुपर्ने प्रस्ताव पेस गरेका थिए। नेता विमलेन्द्र निधिले पनि काँग्रेस चुनावमा एक्लै होमिनुपर्ने धारणा व्यक्त गरेका छन्। सार्वजनिक कार्यक्रम र पार्टीका कुनै औपचारिक-अनौपचारिक बैठकमा यसबारे केही नवोले पनि निधिले चुनावमा एक्लै लड्नुपर्ने पक्षमा रहेको उनीनिकट नेताहरूले बताएका छन्।
निधिको प्रेस हेर्दै आएका पत्रकार रामजी दाहालले पनि यसबारे पुष्टि गरे। दाहालले भने, ‘आगामी चुनावमा काँग्रेसले एक्लै चुनाव लड्दा फाइदा हुने पक्षमा निधि दाइ हुनुहुन्छ, काँग्रेस एक्लै चुनावमा लड्नुपर्ने उहाँको धारणा छ।’ पाँच दलीय उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले भने सत्ता गठबन्धनलाई आगामी चुनावसम्मै लैजाने बताएका छन्।
केही दिनअघि पोखरामा एक सार्वजनिक कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
समिति संयोजक र पार्टीमा पनि हैसियत भएका नेताले दिएको अभिव्यक्तिलाई आधार मान्ने हो भने काँग्रेस चुनावसम्म यही गठबन्धनलाई निरन्तरता दिन्छ भन्न मिल्छ। तर महत्त्वपूर्ण विषयमा पार्टीभित्र सभापति देउवाले एकल निर्णय गर्दै आएकाले पौडेलको अभिव्यक्तिले खास अर्थ नराख्न पनि सक्छ।
शेखर कोइराला समूहले एकल रूपमा भिड्ने माग गरिरहँदा देउवालाई पार्टीभित्र दबाब भने पर्ने देखिएको छ। देउवा प्रधानमन्त्री बनेपछि संविधान र लोकतन्त्रको रक्षा र जनताको अपेक्षा अनुसार सरकारलाई काम गर्न सहयोग गर्ने उद्देश्यले सत्तारुढ पाँच दलीय गठबन्धन गठन गरिएको हो।
नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको ११ सदस्यीय समिति गठन भएको थियो। अत्यन्तै जटिल र पेचिलो बन्दै गएको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी, स्थानीय तहको चुनावको मिति तय लगायत अन्य समसामयिक राजनीतिक एजेन्डाका कारण सत्ता गठबन्धनमा खटपट आउने संशय पैदा भएको छ। (न्युज कारखानाको सहयोगमा )