जनकपुर रेलको भाडादर ७० देखी ३०० रुपैयाँसम्म कायम रहने

फागुन १ : लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ। रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो। तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ।

भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ किलोमिटर रेल मार्ग अन्तर्गत पहिलो चरणमा जयनगर–कुर्थासम्म ३२ किलोमिटर रेल सञ्चालनको हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए।

रेल सञ्चालनका लागि चालकसहितका प्राविधिक कर्मचारी भारतीय रेल कम्पनी केआरसीएल कम्पनीसँग दुई पक्षीय जिटुजी सम्झौता भएको महाप्रबन्धक झाले बताए। बाँकी प्रशासनिक तथा सहयोगी गरी ६५ जना कर्मचारी नेपाल रेल्वे कम्पनीले भर्ना गरी उनीहरूलाई तालिमसमेत दिई तयार गरिसकेको महाप्रबन्धक झाले बताए।

विगतमा चोरी भएका रेल्वे ट्याकको क्लिपहरू लगाई सकेको र एलबी लेभवन गेट समेत मर्मत सम्भार भइसकेको महाप्रबन्धक झाले बताए।

५ कार्तिकमा भारतीय पक्षले रेल सञ्चालनका लागि आवश्यक रेल ट्र्याक, हल्ट, स्टेसन, कर्मचारीको लागि अवाससहितका भौतिक संरचना नेपाल सरकारलाई जिम्मेवार लगाएका थिए। तर, त्यसका केही काम रहेकोले त्यो काम पनि भारतीय पक्षले गरिसकेको महाप्रबन्धक झाले बताए।

यसैबीच,नेपाल रेल्वे कम्पनीले कुर्थादेखि जयनगर सम्मको जनरल ७० र एसीमा ३ सय रुपैयाँ भाडा तोकेको छ। कुर्थादेखि जयनगर सम्म ५ स्टेसन र ३ वटा हल्ट रहेको छ। रेल्वेको टिकट स्टेसन र हल्ट दुवै स्थानमा उपलब्ध हुने महाप्रबन्धक झाले बताए।