केपि कुमार जलन
नेपाली मौलिक कला, संस्कृति र कौराह गीत–संगीतको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित युकेमै रेकर्डिङ तथा छायांकन गरिएको नयाँ कौराह गीत ‘आकाशैको झिलमिल तारा’ सार्वजनिक भएको छ। अग्रज गायक मनसुदन थापा र गायकको सुमधुर स्वरमा सजिएको उक्त गीतले सार्वजनिक भएसँगै नेपाली समुदायबीच विशेष चर्चा बटुल्न थालेको छ।
मौलिक मगर संस्कृतिको झल्को दिने गीतको भिडियो युकेका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ। गीतमार्फत मगर समुदायको मौलिक पहिचान, संस्कृति र परम्परालाई जीवन्त रूपमा प्रस्तुत गरिएको कलाकारहरूको भनाइ छ।
गीत सार्वजनिक गर्दै कलाकारले सम्पूर्ण दर्शक, श्रोता तथा शुभचिन्तकप्रति माया, साथ र आशिर्वादको अपेक्षा गरेका छन्। साथै गीत निर्माणका क्रममा आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग गर्ने सम्पूर्ण सहयोगी, संघ–संस्था, अभिभावक, आफन्त तथा मित्रजनप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
विशेष गरी मगर संघ युकेका पूर्व उपाध्यक्ष अनिता राना मगर, कुमार राना, कोरियोग्राफर नाना राना, मगर संघ युके UHSB शाखाका अध्यक्ष वीर बलाल, महिला अध्यक्ष नानु राना, ऋषि राना, रुक आले मगर, बल थापा, दीपक थापा माईथाने मगर, विष्णु दिदी, गंगा गाहा मगर, मिन राना, कौराह गुरु मोहन थापा लगायत सम्पूर्ण टिमको योगदानलाई कलाकारले विशेष रूपमा स्मरण गरेका छन्।
त्यसैगरी तनहुँ समाज युके, केशबटार आफन्त समाज युके, पोखरा रामबजार समाज युके तथा विभिन्न सामाजिक संस्थासँग आबद्ध व्यक्तित्वहरू, डान्सर टोली र तनहुँ जिल्लावासी नेपाली समुदायप्रति पनि कलाकारले विशेष धन्यवाद व्यक्त गरेका छन्।
सार्वजनिक भएको ‘आकाशैको झिलमिल तारा’ गीतले मौलिक कौराह संस्कृतिलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। गीतको भिडियो अहिले विभिन्न डिजिटल प्लेटफर्ममार्फत हेर्न र सुन्न सकिनेछ


















