दूधमा जथाभाबी सोडा, प्रयोग गरेर बिक्री गरेको पाइए कारबाही गरिने

चैत्र ३ : डेरी उद्योग तथा पसलहरूले दूधमा जथाभाबी सोडा, चिनी, साल्टहरूको प्रयोग गरेर बिक्री गरेको पाइएमा सरकारले कारबाही गर्ने भएको छ ।

आज बुधवार काठमाण्डौमा दुग्ध पदार्थको गुणस्तर तथा स्वच्छतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यस्तो बताएको हो । कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्र विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले डेरी पसलहरूमा विना लेभलका दही, पनिरलगायतका उत्पादनहरू बिक्री भएको बताउनुभयो ।

महानिर्देशक वैद्यले विगतमा डेरी उद्योग तथा पसलहरूमा जथाभाबी रूपमा सोडा, चिनी, साल्टहरू प्रयोग भइरहेको पाइएकाले यस्ता काम गरेको भेटिएका कानुनअनुसार कडा कारबाही गर्ने बताउनुभयो । उहाँले विशेष गरेर गर्मी महिनामा यस्ता काम हुने गरेको बताउनुभयो ।

महानिर्देशक वैद्यले भन्नुभयो, ‘अनुगमनमा लेभल लगाउने, गुणस्तर नापसमेत भइरहेको छ । यदि कसैले घरेलुस्तरमै डेरी चलाइरहनुभएको छ भने त्यहाँ अतिसुक्ष्म जीवाणुहरूको उपस्थिति रहन्छ । त्यसैले त्यसलाई गुणस्तरीय बनाउनका लागि सरसफाइमा ध्यान दिनुपर्छ ।

दुग्धजन्य वस्तु ढुवानी गर्दा आल्मुनियमको क्यानको प्रयोग गर्नुपर्छ । जथाभाबी रूपमा प्लास्टिकको जर्किनमा ल्याउने र सरसफाइ नगर्दा किसानले उत्पादन गरेको दुग्धजन्य पदार्थ शुद्ध र स्वच्छ भए पनि उत्पादन स्थानसम्म पुग्दा सङ्क्रमण हुन्छ । तत्कालीन रूपमा दुग्ध पदार्थको गुणस्तरको विषयमा निर्देशिका बनेका छन् ।

विशेष गरेर दुध, पानी, खाने तेललगायत दैनिक उपभोग हुने वस्तुमा गुणस्तर कायम गर्नका लागि निरन्तर रूपमा विभाग लागेको छ । दीर्घकालीन रूपमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक राष्ट्रिय सभामा रहेको छ । छिटै प्रतिनिधि सभाबाट यो विद्येयक पास भएर लागू भएमा सबै खाद्य शृङ्खलामा परिवर्तन आउने छ ।