उत्सवमय र रङ्गमय बन्यो वषन्तपुर

चैत ३ः आज नेपालको पहाडी तथा हिमाली भेगमा होली पर्व (फागु पूर्णिमा) मनाउने क्रम जारी छ। आजको दिनमा बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मले आपसमा विभिन्न किसिमका रङ लगाइदिएर, नाचगान गरेर, मिठामिठा परिकार खाएरखुवाएर यो पर्वलाई उल्लासमय बनाउने गर्दछन्।

काठमाडौं उपत्यकामा पनि यो पर्व हर्षोल्लहासका साथ मनाउने गरिन्छ। यही पर्व मनाउने सन्दर्भमा आज उपत्यकाका विभिन्न स्थानबाट वसन्तपुर क्षेत्रमा पुगेको युवायुवतीको विशेष जमघटले त्यहाँको वातावरण उत्सवमय बनेको छ। होलीको चीर ठड्याइने क्षेत्र भएकाले पनि हुन सक्छ, पछिल्लो समय उपत्यकामा वसन्तपुर क्षेत्र होली पर्वको केन्द्रजस्तै बन्न पुगेको छ।

कोरोनाका कारण बितेका दुई वर्ष सार्वजनिक स्थलमा होली मनाएको थिएन। तर कोरोना संक्रमण दर घट्दै गएका कारण यसपालि होली मनाउन रोक लगाइएको छैन। त्यसमाथि पनि यो पर्वमा दिइने सार्वजनिक बिदाका कारण वसन्तपुरमा युवायुवतीको उपस्थिति उल्लेख्य बनेको हो। परिचित–अपरिचित सबैले आपसमा रङ दल्दै आत्मीयता साटेर होलीलाई अविस्मरणीय बनाउने प्रयास गरिरहेका छन्।

पछिल्ला केही वर्षयता होली पर्वमा हुने विकृति पनि हट्दै गएको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ। प्रशासनले पनि इच्छाविपरीत कसैलाई रङ नदलिदिन आग्रह गर्दै जबर्जस्ती गरे कारबाही गर्ने बताएको छ।