चैत २३ः प्रधानमन्त्री शेरबहादुर देउवाले फोहरबाट बिजुली र ग्यास उत्पादन गर्न सकिने बताउनुभएको छ ।
आज बिहीवार विश्व स्वास्थ्य दिवसको अवसरका काठमाण्डौमा आयोजित टाइफाइडविरुद्धको खोप अभियान सञ्चालनको शुभारम्भ गर्दै प्रधानमन्त्री देउवाले फोहरबाट बिजुली र ग्यास उत्पादन गरेर फोहर व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
प्रधानमन्त्री देउवाले धरानमा फोहरबाट बिजुली र ग्यास उत्पादन गरी टेम्पो लगायतका साना सवारी साधन सञ्चालन गरिएको भन्दै काठमाण्डौको फोहरलाई पनि त्यसैगरी व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘म केही दिनअघि धरान गएको थिएँ । त्यहाँ ट्रिटमेन्ट प्लान्ट राखेर फोहर व्यवस्थापन गरेर ग्यास निकालिएको रहेछ । त्यसले टेम्पो जस्ता साना सवारी साधन चलाउने व्यवस्थापन गरेको देखेँ । सुन्दर सहर काठमाण्डौ अहिले जताततै फोहरको थुप्रो भएको छ । यो हामी नेपालीको लागि बेइज्जत र लाजमर्दो कुरा हो ।
प्रधानमन्त्री देउवाले फोहरलाई डम्पिङ साइटमा फाल्ने नभइ बिजुली र ग्यास निकालेर यसको उपयोग गर्न सक्नुपर्ने बताउनुभयो । उहाँले फोहरबाट बिजुली र ग्यास निकाल्ने काम गर्न नेपाल आफैँले सक्ने पनि बताउनुभयो ।


















