मेलम्ची खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा, मंगलबार प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने

चैत्र २७ : मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन मङ्गलबार हुने भएको छ । मङ्गलबार सुन्दरीजलमा पूर्वप्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराईको सालिक अनावरणसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको औपचारिक उद्घाटन गर्नेछन् ।

खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनाको सम्पूर्ण सफाइ पूरा भएको र यही चैत २९ गते मङ्गलबार प्रधानमन्त्रीबाट उद्घाटन हुने जानकारी दिए । उनले उपत्यकावासीलाई मेलम्चीको पानी सहज वितरण गर्न सम्पूर्ण तयारी पूरा भएको समेत जानकारी दिए ।

सन २००७ देखि निर्माण सुरु भएको मेलम्ची खानेपानी आयोजना गत असार १ र साउन १७ गते आएको बाढीले ठूलो क्षति पु–याएको थियो । लामो समयदेखि मेलम्चीको पानी आउने आशमा रहेका उपत्यकावासी बाढीका कारण आयोजना नै क्षतिग्रस्त बनेपछि निरास बनेका थिए ।