भाडादरमा एकरुपता कायम गर्न यातायात ब्यवसायीलाई गृहमन्त्री खाँणको आग्रह

चैत्र २७ : गृहमन्त्री बालकृष्ण खाँणले एकै ठाउँमा जाँदा पनि फरक-फरक भाडा दर हुने अवस्थाको तत्काल अन्त्य गर्न आग्रह गर्नु भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको छैठौं राष्ट्रिय महाधिवेशनलाई आईतबार काठमाडौंमा उद्घाटन गर्दै उनले यात्रुहरुलाई बोझ हुनेगरी भाडा नलिन यातायात व्यवसायीहरुलाई आग्रह गरेका हुन ।

उनले भने, ‘यात्रुहरुलाई पनि भाडा तिर्दा धेरै बोझ नहोस् । त्यतापट्टि ध्यान दिनुपर्छ भन्ने लाग्छ मलाई । अव यात्राको बारेमा पनि बोल्नुपर्छ जस्तो लाग्यो । यात्रुहरुको गुनासो के छ भन्दाखेरी एकैठाउँमा जाँदा पनि भाडा फरकफरक हुन्छ । भाडा निर्धारण गर्दा यात्रु र व्यवसायी दुवैलाई मर्का नपरोस् । अर्को यातायातको क्षेत्रलाई प्रविधिसँग जोडेर अघि बढाउन आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकार सदा तयार छ ।’