२९ चैत : चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ । पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.१० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब रुपैयाँ बढीले बढेको अर्थमन्त्री जनार्दन शर्माले बताए ।
हाल कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिएका छन् । सार्वजनिक ऋण गत आर्थिक वर्षमा कायम भएको कुल गार्हस्थ्य उत्पादनको ४३.४० प्रतिशत रहेको भन्दै अर्थमन्त्री शर्माले हालसम्म ७० अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋणको साँवा तथा ब्याज भुक्तानी भएको तथा चालू आर्थिक वर्षभित्र थव ४० अर्ब भुक्तानी गर्नुपर्ने जानकारी दिए ।
आव २०७७(०७८ को आर्थिक सर्वेक्षणले २०७७ फागुन मसान्तसम्म मुलुकको खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको देखाएको थियो । उक्त समयमा सोही अवधिको कुल गार्हस्थ्य उत्पादन ३७.३० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा ६।१० प्रतिशतले बढेको हो ।
चालू आर्थिक वर्षमा २३९ रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएकोमा चैत २८ गतेसम्म सरकारले १०५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ ।
यसैगरी यस अवधिमा ११६ अर्ब बाह्य ऋण लिएको सरकारले १३ अर्ब ८८ करोड रुपैयाँ वैदेशिक अनुदान पाएको छ । यसरी कुल १२९ अर्ब वैदेशिक ऋण तथा अनुदान परिचालन गरिएको उनले जानकारी दिए ।
अर्थतन्त्त सही दिशामा : अर्थमन्त्री
अर्थमन्त्री शर्माले मुलुकको अर्थतन्त्र सही दिशातीर गइरहेको दावी गरेका छन् । अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्रमा कुनै ठूलो संकट नआएको र अर्थतन्त्र सही दिशाउन्मुख रहेको दावी गरेका हुन ।
अर्थमन्त्री शर्माले देश श्रीलंका जस्तो हुन्छ भनेर अफवाह फैलाइएकोमा आपत्ति जनाउँदै श्रीलंका बनाउन किन चासो भइरहेको छ भन्दै प्रश्न गरेका छन् ।
‘देशको अर्थतन्त्र सही दिशाउन्मुख छ, तर नियोजित रुपमा श्रीलंका जस्तो टाट पल्टिन लागेको भन्दै केहीले राजनीतिकरण गर्न खोजेका छन्, जनतामा यस्को भ्रम छरेर आतंकित नबनाउन म सबैलाई आग्रह गर्न चाहन्छु,’ उनले भने ।


















