७२६ पालिकाको नतिजा सार्वजनिक, मतगणना जारी भएका पालिकामा को अगाडि ?

जेठ ९ : सोमबार बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार १ महानगर, ९ वटा उपमहानगरसहित ७२६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी पालिकामा जित हात पारेको छ । दोस्रोमा नेकपा एमाले छ भने तेस्रोमा नेकपा माओवादी केन्द्र छ । ५ महानगरपालिकासहित २५ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । २ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन । बागमती प्रदेशबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भरतपुर महानगरपालिका बाँकी छन् । गण्डकीबाट पोखरा महानगरपालिका बाँकी हुँदा लुम्बिनीबाट रूपन्देहीका ३ पालिका तिलोत्तमा, लुम्बिनी सांस्कृतिक र कोटहीमाई गाउँपालिकाको अन्तिम मत परिणाम आउन बाँकी छ । कपिलबस्तुबाट महाराजगन्ज नगरपालिका र दाङबाट तुलसीपुर उपमहानगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ।

बाँकी रहेको पालिकामा प्रदेश १ बाट उदयपुरका दुई वटा पालिका, मधेश प्रदेशबाट रौतहटका ६, सिराहा, धनुषा, बारा र पर्साबाट १/१ पालिकाको अन्तिम नतिजा आउन बाँकी छ । सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढी गंगा, अछामको साफेबगर नगरपालिकामा अन्तिम परिणाम आउन बाँकी छ ।

कसको अग्रता कति ? 

नेकपा एमाले-७, नेपाली कांग्रेस-५, जसपा-३, एकीकृत समाजवादी- २, माओवादी केन्द्र- २, लोसपा-२, स्वतन्त्र-२,गणना हुन बाँकी -२