जेठ ११ः स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ। हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन्।
तलब भत्ता सामाजिक काममा लगानी गर्ने अदनचुली गाउँपालिका– ४ का वडाध्यक्ष मनर्षि पाण्डेले घोषणा गरेका छन्। सो गाउँपालिकाको पहिलो बैठकले गरिब, दुःखी, विपन्न, दलित, अपाङ्गता, शहीद, बेपत्ता, घाइते र विस्थापित परिवारका २० विद्यार्थीलाई उच्च शिक्षा अध्ययन गर्न छात्रवृति दिने निर्णय गरेको छ।
त्यसैगरी सर्केगाड गाउँपालिकाका जनप्रतिनिधिले पनि शपथसँगै पदभारग्रहण गर्दै पहिलो बैठकमा सुत्केरी प्रोत्साहन भत्तासँगै सबै नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिने निर्णय गरेको छ।
गाउँपालिकाभरिका सुत्केरी महिलालाई एक पटकका लागि एक हजार रुपैयाँ प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित अध्यक्ष ठानबहादुर रोकायाले बताए।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरबहादुुर रावतका अनुसार यसअघि सरकारले सुत्केरीलाई प्रोत्साहन र यातायात खर्च दिँदै आएकोमा थप प्रोत्साहन अतिरिक्त गाउँपालिकाले थप्ने पहिलो बैठकले निणर्य गरेको बताउनुभयो।


















