जेठ ११: सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको बताए । मन्त्रीपरिषद्को बैठकले हड्ताल गर्न निशेष गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय पनि गरेको जानकारी दिए ।
बैठकले जेठ ११ गते आयोजना हुने नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको भर्चुअल माध्यमबाट हुने १४ औँ बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिवको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ भने लोकसेवा आयोगको सिफारिसमा नेपाल कृषि सेवा, मत्स्य समूह, राजपत्राङ्कित प्रथम श्रेणीको पदमा बढुवा नियुक्ति तथा पदस्थापन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए ।
त्यस्तै बैठकले जेठ २३ देखि असार २ गतेसम्म रुवान्डाको किगालीमा आयोजना हुने विश्व दूरसञ्चार विकास सम्मेलनमा भाग लिन सञ्चार मन्त्रीलाई स्वीकृति दिने निर्णय गरेको छ ।

















