एक महिनाभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन संसदीय समितिको सरकारलाई निर्देशन

जेठ ११: संसदीय समितिले एक महिनाभित्र विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउन निर्देशन दिएको छ । विद्यालय तहको पाठ्यपुस्तकको बाँकी छपाइ एक महिनाभित्र सम्पन्न गरी विद्यार्थीको हातहातमा पुर्‍याउन सरकारलाई निर्देशन दिएको हो ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बुधवार बसेको बैठकले ३५ लाख बाँकी पुस्तक छपाइको काम छिटो सम्पन्न गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई सचेत गराएको हो । साथै समितिले छापिएको पुस्तक पनि तत्काल विद्यार्थीलाई वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई निर्देशन दिएको छ ।

उता जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले स्थानीय तहको निर्वाचन, युक्रेन-रुस युद्ध जस्ता कारण देखाउँदै समयमा पाठयपुस्तक छपाई गर्न नसकिरहेको बताइरहेको छ ।