एक लाख ३१ हजार नक्कली नोटसहित भारतीय नागरिक प्रकाउ

असार २ : रौतहटमा नेपाली र भारतीय नक्कली नोटसहित सशस्त्र प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारतको गोरखपुर निवासी २३ वर्षीय सन्जय सक्सेनालाई बिहीबार बिहान पाँच बजे सशस्त्र प्रहरी बल नेपालको सरमुझवा (बंकुल) बी‌ओपीको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट एक हजारका नेपाली नोट ५० थान, दुई हजारका २३ थान भारतीय नोट र पाँच सयका १० थान भारतीय नोट बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसको कूल नेपाली मूल्य एक लाख ३१ हजार ६०० हुन आउँछ । पक्राउ परेका सक्सेनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोतुवा बुझाइएको छ ।