असार २ः पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आबुखैरेनी–मुग्लिन सडकखण्ड स्थित रुवाखोलाको पुलबाट टिप्पर खस्दा एकजनाको मृत्यु भएको छ।

टिपर खसेर गम्भीर घाइते भएकाउनलाई उपचारका लागि चितवनस्थित मेडिकल कलेज लगिएकोमा चिकित्सकहरूले मृत घोषणा गरेको प्रहरीको भनाइ छ।
मुग्लिनबाट आँबुखैरेनीतर्फ गइरहेको ग १ क ४४६९ नम्बरको टिपर आबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत आयोजनाको पावर हाउस नजिकैको पुलमा करिब साढे ४ बजे खसेर खोलामा पुगेको थियो।
दुर्घटनामा परी चालक म्याग्दे गाउँपालिका वडा नम्बर ६ का करिब ४७ वर्षका रामबहादुर दमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
टिपरमा चालकबाहेक अन्य व्यक्ति नरहेको पनि प्रहरीले जानकारी दिएको छ । तीव्र गतिका कारण अनियन्त्रित भई टिपर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।


















