बालबालिकालाई लगाइने कोभिड खोप ९१ प्रतिशत प्रभावकारि रहेको प्रमाणित

असार ३ : पाँच वर्षदेखि १२ वर्ष मुनिका बालबालिकालाई लगाइने कोरोना भाइरस विरुद्धको खोपको प्रभावकारिता नेपालमा ९१ प्रतिशत रहेको जानकारहरुको भनाई छ ।

स्वास्थ्य सेवा विभाग र नेपाल स्वास्थ्य पत्रकार मञ्चले आज आयोजना गरेको ‘कोभिड–१९ विरुद्धको भ्याक्सिन प्रवद्र्धन तथा रोकथाम नियन्त्रण’ सम्बन्धि अन्तरक्रियामा परिवार कल्याण महाशाखाका जनस्वास्थ्य अधिकृत सञ्जय महासेठले खोपको प्रभावकारिता ९१ प्रतिशत र सुरक्षित रहेको बताएका हुन।

सरकारले यही असार ९ गतेदेखि पाँचदेखि १२ वर्ष मुनिका ३९ लाख बालबालिकालाई कोरोना भाइरस विरुद्धको ‘फाइजर बायोएनटेक’ खोप लगाउन थालेको हो। विभागले खोप विद्यालयमा नै गएर लगाउने भएको छ। उनले खोप लगाउनका लागि खोप केन्द्रमा एक तालिम प्राप्त स्वास्थ्यकर्मी राख्ने जानकारी दिए।

खोप लगाएपछि टाउको दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, सुइ लगाएको ठाउँ रातो हुने, शरीर चिलाउने, बिमिरा तथा डाबर आउनेजस्ता समस्या हुने गर्दछन्। सत्ताइस जिल्लामा असार ९ गतेदेखि १५ गतेसम्म पहिलो मात्रा र सोही समूहलाई साउन २ देखि ८ गतेसम्म दोस्रो मात्राको खोप दिइनेछ।

विद्यालयमा सूचीकृत नभएका बालबालिकाको हकमा उमेर खुल्ने परिचयपत्र वा निजको अभिभावकले स्वःघोषणा गरेको उमेर पुगेका बालबालिकालाई खोप लगाइनेछ। विभागका महानिर्देशक दीपेन्द्ररमण सिंहले खोप सुरक्षित र प्रभावकारिता रहेकाले सबै अभिभावकलाई आफ्ना बालबालिकालाई खोप लगाउन आग्रह गरे।

खोप एक स्थानीय तहलाई एकै चरणमा सम्पन्न गर्ने गरिने छ। खोप केन्द्र तोकिएका विद्यालय र अभियानको अन्तिम दिन सबै स्वास्थ्य संस्थामा खोप लगाइनेछ। खोप केन्द्रमा कम्तिमा एक जना खोप दिने स्वास्थ्यकर्मी र थप लक्षित सङ्ख्याको आधारमा स्वास्थ्यकर्मी तथा दुई जना स्वयंसेवक र प्रति २०० थप लक्षित सङ्ख्याको लागि थप एक जना स्वयंसेवक परिचालन गरिने छ।