एसपीपीबारे प्रचण्डले झुट बोलिरहेका छन् : केपी ओली

असार ३ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) आफू नेतृत्वको सरकारले अगाडि बढाएको भनेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हदैसम्मको झुट र बेइमानी कुरा गरेको बताएका छन् ।

अध्यक्ष ओलीले सुशील कोइराला नेतृत्वको सरकारले सुरु गरेको, दाहाल नेतृत्वको सरकारले अघि बढाएको त्यो कार्यक्रम आफू नेतृत्वको सरकारले अस्वीकार गरेको तथ्यलाई बिर्सेर दाहालले झुट र बेइमानी गरेको ओलीले स्पष्टीकरण दिएका हुन् ।

पार्टीबाट निर्वाचित पालिकाका जनप्रतिनिधिका लागि काठमाण्डौमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उनले २०७४ साल वैशाख २४ गते दाहाल प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधानसेनापति क्षेत्रीले त्यो कार्यक्रममा हामीलाई सहभागी गराउन पर्‍यो भनेर अमेरिकी सेनाको प्यासेफिक कमान्डलाई पत्राचार गरेको तथ्य नबिर्सन पनि सचेत गराए ।

अध्यक्ष ओलीले आफू र आफ्नो पार्टी राष्ट्र र राष्ट्रियताको सवालमा सधैँ सचेत रहेको उल्लेख गर्दै अरूले फिँजाएको भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।