असार १३ : नेपाल वायुसेवा निगमले १० वर्षे व्यावसायिक योजना परिमार्जन गर्ने भएको छ । निगम व्यवस्थापनबाट तत्कालको हवाई बजारलाई मध्यनजर गर्दै १० वर्षे (२०२१–२०३०) एकीकृत व्यवसायिक योजनाको समीक्षा र आवश्यक परिमार्जन गर्ने निर्णय निगमले गरेको छ ।
अहिले सञ्चालनमा नरहेका चिनियाँ विमानको हकमा तत्काल ठोस व्यवस्थापनको पहल लिँदै सञ्चालक समितिमा प्रस्ताव लैजाने निर्णय समेत निगम व्यवस्थापनले गरेको छ ।
निगमले ६४औँ वार्षिकोत्सवका अवसरमा यही असार १७ गते लामो समयदेखि सञ्चालनमा आउन नसकेको निगमको नयाँ वेबसाइट सार्वजनिक गर्ने समेत निर्णय गरेको छ ।
निगमले तिर्नुपर्ने कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको ऋणको किस्ताको पुनःतालिकीरण गर्न पहल गर्ने निर्णय समेत भएको छ । यसका लागि अर्थ मन्त्रालय, पर्यटन मन्त्रालय र दुई कोषबीच समन्वय गर्ने भएको छ


















