मन्त्रीहरुलाई माधव नेपालको निर्देशन आर्थिक लेनदेनमा मुछिएको सुन्न नपरोस्

असार १५ः पार्टीका मन्त्रीहरु कतै आर्थिक लेनदेनमा मुछिएको खबर सुन्न नपर्नेगरी जनताको पक्षमा काम गर्न समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा नवनियुक्त मन्त्रीहरुलाई बोलाएर उनले विवादित काम नगर्न निर्देशन दिएका हुन् ।

विहान नेपालले सहरी मन्त्री मेटमणि चौधरी, पर्यटन मन्त्री जीवनराज श्रेष्ठ, श्रम मन्त्री शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्री भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीलाई बोलाएर प्रशिक्षण दिएका हुन् ।

‘पार्टीबाट मन्त्री हुनुभएको छ । पार्टीको इज्जत राखेर काम गर्नुहोला । कतै नराम्रो काम गरेको सुन्न नपरोस्, पार्टीलाई कतै दाग लाग्ने काम नगर्नुहोला’ प्रशिक्षणमा सहभागी स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसीले भने, ‘विवादित काम नगर्नुहोला बदनाम गर्ने काम नगर्नुहोला ।

हामी नयाँ पार्टी भर्खरै निर्माण गरेका छौ । पार्टीको शीर उचो हुने काम गर्नुहोला।’ साथै नेपालले आफ्नो पार्टीबाट गएकाहरुले यो भन्दा अगाडि प्रसंसायुक्त काम गरेको बताउदै सोही रफटारमा काम गर्न निर्देश गरेका छन ।