कोरोना कम भएसंगै पर्यटक आगमनमा वृद्धि,६ महिनामा २ लाख ३७ हजार बढी पर्यटक भित्रिए

असार १९ : पछिल्लो पटक पर्यटक आगमनमा उत्साहजनक सुधार आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार पछिल्लो ६ महिनाको अवधिमा २ लाख ३७ हजार ६९६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

जुन महिनामा मात्र ४६ हजार ९५७ जना पर्यटक नेपाल आएको बोर्डको तथ्यांक छ । यो सन् २०१९ को तुलनामा ६९.३ प्रतिशत हो । सो वर्ष कोरोना महामारी थिएन । उक्त वर्ष जुनमा ६१ हजार ३५१ जना पर्यटक नेपाल आएका थिए ।

जुलाई २०२० मा ७६ र जुलाई २०२१ मा १ हजार १४३ जना पर्यटक नेपाल आएका थिए । सो वर्ष कोरोना भाइरसको महामारीले यात्रामा प्रतिबन्ध लागेको थियो । यो तथ्यांक हवाईमार्गबाट आएका पर्यटकको हो ।

नेपालले स्थलमार्गबाट आउने भारतीय नागरिकलाई पर्यटकका रुपमा गणना गर्दैन ।