असार २० : फ्रान्सेली फिल्म ‘दिग्वी’ को छायांकन नेपालमा हुने भएको छ। फ्रान्सेली भाषामा निर्माण हुने फिल्मको छायांकन काठमाडौं र सगरमाथा क्षेत्रको नाम्चे आसपासमा हुने भएको हो।

फिल्म छायांकनको ‘लोकेसन’ खोज्न नेपाल आइपुगेको निर्देशक एलन सिमोनसहितको टोलीले आइतबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो।
३५ दिनको छायांकन तालिका राखिएको फिल्ममा नेपाली कलाकारसमेत हुनेछन्। रक ओपेरा संगीतका चर्चित फ्रान्सेली संगीततकार, निर्देशक तथा लेखकसमेत रहेका सिमोनले ९० प्रतिशत छायांकन नेपालमा हुने जानकारी दिए।
सन् २०१५ को महाभूकम्पको बेला पनि नेपालीलाई सघाउन कन्सर्ट आयोजना गरेका सिमोनले त्यतिवेलादेखि नै नेपालमा फिल्म सुटिङको योजना बनाउनुभएको थियो। ‘धेरै विदेशी मान्छे नेपालमा आउँछन् आध्यात्मिकताको खोजी गर्न’, उनले भने, ‘म पनि आएको छु आनन्द र खुसी दिने एउटा फिल्म बनाउन।’
उनका अनुसार फिल्मले आध्यात्मिकता, संगीत र जीवनको अर्थ खोज्दै युरोपबाट नेपाल आइपुग्ने यावरको कथा भन्छ। पाभेल नामक मुख्य पात्र नेपालमा आउँदा सारंगीवादक बालकलाई भेटेपछि उसमा आउने परिवर्तन फिल्मको कथावस्तु हो ।

















