शृङ्गारका सामग्रीमा मात्रै बाहिरियो अर्बौ रुपैया

असार २० : पछिल्लो समय देशभित्र विदेशी मुद्राको सञ्चिती घट्दै गइरहेको विवरण हरेक दिनजसो चर्चाको केन्द्रमा छ । संसद्देखि नागरिक स्तरमा पनि यसबारेमा नियमित रुपमा चर्चा भइरहेको छ।

नेपाल राष्ट्र बैंकले हरेक महिना सार्वजनिक गर्ने आर्थिक विवरणमा समेत विदेशी मुद्राको सञ्चिती घटेको देखाइन्छ। तर राम्रो देखिनका लागि आयात गरिएको सौन्दर्यका सामग्रीको मात्रा हरेक महिना वृद्धि भएको पाइएको छ ।

भन्सार विभागको तथ्याङ्कलाई हेर्ने हो भने महिलाले ओठमा प्रयोग गर्ने शृङ्गारका सामग्रीको आयातमा मात्रै रु ३० करोड ८३ लाख ५१ हजार रकम बाहिरिएको छ। स्वास्थ्यका दृष्टिले लिपिस्टिकको प्रयोगलाई राम्रो मानिँदैन ।

चालु आवको जेठ मसान्तसम्म कूल दुई लाख ३७ हजार ४२९ केजी बराबरको ओठ राम्रो बनाउने सौन्दर्यका सामग्री आयात भएको छ। ती सामग्रीको आयात गर्दा सरकारले रु ११ करोड ३७ लाख ७८ हजार राजस्व सङ्कलन गरेको छ ।

भारतबाट मात्रै रु १२ करोड ५९ लाख ५३ हजार मूल्य बराबरको करिब ४० हजार ७६३ केजी लिपिस्टिकलगायतका सामग्री आयात भएको छ। त्यस्तै चीनबाट एक लाख ९० हजार ६८७ केजी बराबरको सामग्री रु ११ करोड ६० लाख ४८ हजार मूल्यमा आयात भएको छ।

विभागका अनुसार चालु आवको जेठ मसान्तसम्ममा रु ९३ करोड ४९ लाख ९६ हजारका क्रिम पाउडर आयात भएको छ जसबाट सरकारले रु ३५ करोड २९ लाख ८० हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।