असार २०ः तीन दिनअघि बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट बालिकाको ज्यान गएपछि क्षतिपूर्ति र ट्रक चालकलाई कारबाहीको माग गर्दै बालिकाका आफन्तले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् ।
बाँकेको कोहलपुर बसपार्क नजिक गएको शनिवार बिहान सडक किनारमा हिँडिरहेकी बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरीगाँउकी १२ वर्षीया खिमा बोहराको ट्रकको ठक्करबाट ज्यान गएपछि बालिकाका आफन्तले आज सोमवार भुरीगाउँमा पूर्व–पश्चिम राजमार्ग बन्द गरेका हुन् ।
उचित राहत, क्षतिपूर्ति र ट्रक चालकलाई कडा कारबाहीका लागि मृतक बालिकाका आफन्तजन, स्थानीय जनप्रतिनिधि, ट्रक व्यवसायी समिति र प्रहरीसहितको टोलीबीच इलाका प्रहरी कार्यालय कोहोलपुरमा हिजो आइतवार बेलुकासम्म छलफल भए पनि सहमति हुन नसकेपछि आज दिउँसो १ बजेदेखि राजमार्ग बन्द गरिएको बालिकाका फुपू भूमिका वलीले बताउनुभयो ।
बालिकाको शव नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा राखिएको छ, अहिलेसम्म पोस्टमार्टम पनि भएको छैन, सहमति नभएसम्म बालिकाको शव नबुझ्ने मृतक बालिकाका आफन्तले जनाएका वलीले बताउनुभयो ।
पीडित पक्षको माग सम्बोधनका लागि फेरि छलफल गर्ने गरी राजमार्ग खुलाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट कोहलपुर चौराह आउँदै गरेको प्र.१–०२–०१ ख ९२२९ नम्बरको ट्रकले शनिवार बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै ज्यान गएको हो ।


















