असार २१ः अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई समावेश गरेको विषय पेचिलो बन्दै गएको छ।

नेकपा माओवादी केन्द्रभित्रै अर्थमन्त्री शर्माको तीव्र आलोचना भइरहेको छ। सत्ता गठबन्धन दल भित्रपनि अर्थमन्त्री शर्माको कार्यशैलीलाई लिएर शीर्ष नेताहरु विभाजित बनेका हुन्।
अर्थमन्त्री शर्माले असार १४ गते राति पूर्व नायबसुब्बा रघुनाथ घिमिरे सहित ‘खेताला विज्ञ’राखेर बजेटमा चलखेल गरेको घटना एकपछि अर्को गर्दै मिडियामा आएको थियो ।
करका दर र दायरा परिवर्तन गर्दा अर्थमन्त्रीका सल्लाहकारलाई पनि राख्न पाइँदैन। तर, उक्त परिपाटी लत्याउँदै पूर्वनासु घिमिरेलाई राखेर केही व्यापारिक घरानालाई फाइदा र केहीलाई बेफाइदा हुने गरी चलखेल भएको अर्थमन्त्रि माथि आरोप लागेको छ।
तत्काल सीसीटीभी हेर्न पाउनुपर्ने माग संसदमै उठ्यो। तर, अर्थमन्त्रीले त्यसलाई टार्दै आएका छन्। मन्त्रालयमा जडान भएको सीसीटीभीको क्षमता र जडान भएको क्यामेराको आधारमा बढीमा १३ दिनपछि सीसीटीभी फुटेज अर्थमन्त्रालयले मेटाएको पत्र सार्वजनिक भएको छ।
उपभोक्ता हित संरक्षण मञ्चका तर्फबाट सचिव जयप्रसाद पौडेलले अनाधिृकत व्यक्ति प्रवेश गरेको दिन रातीको सीसीटीभी फुटेज माग्दा मेटिएको जवाफ मन्त्रालयबाट आएपछि अर्थमन्त्री शर्मा थप विवादित बनेका छन्।
अर्थमन्त्री शर्माले सो घटनाबारे आफ्ना पार्टीका नेता कार्यकर्ताले उठाएको प्रश्नको जवाफ दिन पनि पन्छिन थालेका छन् । अर्थमन्त्री शर्माको कार्यशैलीका कारण पार्टी बदनाम हुने भन्दै केन्द्रीय तहका नेताहरुले सरकारबाट फिर्ता बोलाउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिन थालेका छन्।
मंगलबार बिहानसमेत प्रचण्डले नेताहरु देव गुरुङ, पम्फा भुसाल, देवेन्द्र पौडेललगायतका नेताहरुलाई खुमलटार बोलाएर अर्थमन्त्री शर्माको विषयमा छलफल गरेको स्रोतले बताएको छ।
















