मंसिर २ गते चुनाव गर्न निर्वाचन आयोगको प्रस्ताव

असार २२ : निर्वाचन आयोगले आगामी मंसिर २ गतेका लागि प्रदेश र संघको निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसहितको छलफलमा आयोगका पदाधिकारीले मंसिर २ गतेका लागि चुनावको मिति प्रस्ताव गरेका हुन् ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६(१)र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६(१) बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएको जानकारी दिएको छ ।

निर्वाचन आयोग ऐन, २०७३ तथा निर्वाचन सम्बन्धी कानूनले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको मिति निर्वाचन आयोगको परामर्शमा नेपाल सरकारले तोक्ने व्यवस्था गरेको छ ।

आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, कानुनमन्त्री गोविन्द बन्दी, मुख्यसचिव शंकरदास बैरागी लगायतसँग छलफल गरेको थियो ।