साउन ५ः पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य यतिबेला चर्चामा रहेका छन् ।
मेयर आचार्य कुनै नयाँ नौलो काम गरेर चर्चामा आएका भने होईनन् उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकै कारण यतिबेला उनको सामाजिक संजालमा आलोचना सहितको चर्चा चुलिएको छ ।
जेठ १२ गते पदभार सम्हालेको उनले ६० दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गरेका थिए। आचार्यले आफ्नो र श्रीमतीको नाममा रहेको सम्पत्ति विवरण पोखरा महानगरपालिकाको वेबसाइटमार्फत सार्वजनिक गरेका हुन ।
मेयर आचार्यसँग ४३ करोड ६१ लाख ४५ हजार ६ सय १६ रूपैयाँ बराबरको सम्पत्ति भएको उल्लेख छ । बैंक, वित्तीय कोष, नातेदार र मित्रसँग गरी २ करोड ८५ लाख रुपैयाँ ऋण रहेको पनि उल्लेख छ ।
ऋण घटाउँदा पनि उनीसँग खुद सम्पत्ति ४० करोड ७६ लाख ४५ हजार ६ सय १६ रूपैयाँ छ । मेयर आचार्यको सबैभन्दा धेरै रकम शेयरमा छ । विभिन्न कम्पनीमा शेयर र लगानी गरेर २५ करोड ९९ लाख ४५ हजार ६ सय १६ रूपैयाँ रहेको उल्लेख गरेका छन्।
उनको सबैभन्दा धेरै शेयर जलविद्युत् आयोजनामा रहेको छ । त्यस्तैगरी पोखरामा ३ करोड ५० लाख पर्ने जग्गा र दोलखाको हेवामा ८७ लाख रुपैयाँ पर्ने जग्गा छ ।
उनले दुई करोड मूल्य बराबरका ४ वटा गाडी र ३ वटा स्कुटर आफूसँग रहेको विवरण दिए । पोखरा–९ नयाँ बजारमा श्रीमती पुष्पकुमारी पौडेलका नाममा ९ करोड २५ लाख मूल्य बराबरको दुई वटा घर, काठमाण्डौको सीतापाइलामा श्रीमतीकै नाममा १ करोड ८५ लाख मूल्य बराबरको एउटा घर रहेको छ ।
त्यस्तै उनकोउनको बुवाको सम्पत्ति बाहेक पनि उनले ५४ तोला सुन, ३८ तोला चाँदी र ५ तोला हिरा रहेको उल्लेख गरेका छन् ।


















