कैलालीका रानाथारू समुदायले आज तीज मनाउँदै पालिकाले सार्वजनिक बिदा दियो

साउन १५ः कैलाली र कञ्चनपुरमा रानाथारू समुदायले मनाउदै आएको तीज पर्व यो वर्षपनि भव्यताका साथ मनाइरहेका छन् ।

राना थारू समुदायका महिलाहरुले आइतबार पानीसमेत नपिएर निरहार बसी दाजुभाइको दीर्घायुको कामनासहित तीजपर्व मनाउने गर्दछन् । यस अवसरमा दाजुभाइले दिदीबहिनीका लागि गाउँमा राखिएको डोला (पिङ) खेल्ने चलन छ।

तीजका अवसरमा घर–घरमा बनाइएका परम्परागत पकवान सिमही, पपरा, पुरी, गुलगुला बनाई आफन्तलाई बाँड्दै घरका सबैले सँगै बसेर खाने चलन यस समुदायमा रहेको छ । तीजका अवसरमा महिलाले घङ्घरिया, अङ्गिया, फतुइ र घुँगट लगाउने गरेका छन् भने आभूषणमा पैडा, कठुला, हरवालगायत घाँटीदेखि खुट्टासम्म लगाउने गर्दछन्।

कैलाली र कञ्चनपुरमा मात्रै बसोबास भएका राना समुदायको यो महत्वपूर्ण पर्वका रूपमा रहेको छ। राना थारू समुदायको तीजपर्वका अवसरमा कञ्चनपुरका दुई पालिकामा सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको तीज विर्सजन हुने दिन साउन १५ (आइतबार)  गतेका दिन बेलौरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

त्यस्तै पुनर्वास र कृष्णपुर नगरपालिकाका साथै लालझाडी गाउँपालिकामा पनि तीजको अवसरमा सार्वजनिक बिदा दिइएको छ। राना थारु समुदायमा तीज अन्य समुदायको तुलनामा निकै फरक गरी मनाइन्छ । एक महिनासम्म तीज मनाउने यो समुदायमा आँगनमा पिङ गाडेको दिनबाट तीज सुरु हुन्छ । त्यसरी हालिएको पिङलाई डोला भनिन्छ । पिङ हाल्न महिला दिदीबहिनीलाई दाजुभाइले पनि साथ दिन्छन् ।