असार १७ः म्याग्दी जिल्लाको रुममा आज बिहान पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको मालिका गाउँपालिका–२ रुमको तामिङमा घाम बहादुर विक र गोठे विकको घर पहिरोले पुरिएको हो ।घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर विकका अनुसार गोठे विकका छोरा राजन र नवीनको शव भेटिएको छ भने अन्य तीन जना अझै बेपत्ता छन् ।
गोठे र उनकी श्रीमती गोरी विक पहिरोमा परेर घाइते भएका छन्। घमबहादुर, उनकी श्रीमती राममाया र छोरी रोजी विक बेपत्ता भएका हुन् । स्थानीयवासीले बेपत्ताको खोजी गरिरहेका छन् ।
मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ हिँडेको जानकारी दिएका छन्।
अहिलेसम्म पानिपर्ने क्रम नरोकिएको कारण बेपत्ताको खोजी गर्न समस्या परेको स्थानीयको भनाई छ भिरालो भूभाग भएको कारण घरमाथीबाट आएको पहिरोले घर बगाएको स्थानीयको भनाई छ ।


















