धरानका मेयर हर्क साम्पाङविरुद्व साइबर अपराधको मुद्दा

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङविरुद्व साइबर अपराध अन्तर्गतको मुद्दा दायर गरिएको छ। धरानकी निवर्तमान उपमेयर तथा नेकपा एमालेकी केन्द्रीय सदस्य मञ्जु भण्डारीले आफ्नो नाम र फोटोको दुरुपयोग गरी सामाजिक सद्‍भाव भड्काउने गरी फेसबुक पोस्ट स्क्रिनसट जस्तो भ्रामक कुरा मेयर साम्पाङले प्रसारित गरेको भन्दै साइबर अपराधको मुद्दा दायर गरेकी हुन्।

भण्डारीले आफ्नो नाम र फोटोको प्रयोग गरेर बनाइएको भ्रामक स्क्रिनसट पहिलो पटक नगर प्रमुख साम्पाङको पेजमा भएको पोस्ट भएको देखेकोले पहिलो देखेको आधारमा साम्पाङ विरुद्ध मुद्दा दायर गरेको जानकारी दिइन्।

साम्पाङको आधिकारिक फेसबुक पेज ‘हर्क सम्पाङ अ रेभुलुसन’ मा भनेका थिए- ‘धन्यवाद मञ्जु मेडम तर तपाइँको यो अभिव्यक्तिले राई लिम्बू, क्षेत्री बाहुन, भनेर धरानलाई भाँड्न खोजे पनि हाम्रो सामाजिक एकता तपाइँले सोचे जस्तो कमजोर छैन।’

भण्डारीले आफ्नो फेसबुक आइडी जस्तै फेक स्क्रिन सर्ट तयार गरेर सामाजिक सद्भाव भड्काउन खोजिएको बताइन्। उनले  बिहीबार साँझ पत्रकार सम्मेलन गरी मेयर साम्पाङले जातीय सद्भावमा खलल पुग्ने गरीका फोटो सामाग्री उत्पादन गर्ने फेसबुक पोस्ट गर्ने गरेको प्रति गम्भीर ध्यान आकर्षण भएको बताइन्।

उनले भनिन्, ‘नगर प्रमुखलाई मुद्दा हाल्ने भन्ने राम्रो कुरा थिएन। हामी बाध्य हुन नपरोस् भनेर संयमितता अपनाइरहेका थियो। तर, उहाँले आक्रमणको शैली अपनाउनु भयो, आज हाम्रो मेरो फेक आइडी तयार पारियो अनि बाध्य भएर मैले साइबर ब्युरो भोटाहिटीमा मुद्दा दर्ता गरी सकेको छु।’
धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाबाट पीडित संघर्ष समितिको संयोजक खगेन्द्र नेपालीसँग आफू र नेकपा एमालेलाई जोडेर वास्तविक पीडितहरूको आन्दोलनलाई राजनीतिकरण गर्न खोजेको समेत आरोप लगाइन्।