नागरिकको पक्षमा काम गर्न प्रदीप पौडेललाई नरहरि आचार्यको सुझाव

काठमाडौं । काठमाडौं–५मा कांग्रेसका तर्फबाट उमेदवार बनेका प्रदीप पौडेललाई कांग्रेस नेता नरहरि आचार्यले नागरिकका पक्षमा उभिन सुझाव दिएका छन् । नेपाली कांग्रेसले क्षेत्र नम्बर–५मा उमेदवार बनाए पछि शुभकामना र सुझाव माग्न पुगेका पौडेललाई जनमतको सम्मान गर्न सकेमात्र चुनाव जितिने बताएका छन् ।

आचार्य क्षेत्रनम्बर–५ मा ०६४ र ७०मा लगातार निर्वाचित भएका नेता हुन् । नेता आचार्यले क्षेत्रनम्बर–५ का मतदाता सचेत र परिवर्तनको पक्षधर भएको भन्दै उनीहरुको मत जित्न जनपक्षीय व्यक्ति आवश्यक रहेको बताए ।

‘काठमाडौं क्षेत्र नम्बर ५ का आम नागरिक विवेकशील, निष्ठावान र सचेत छन्,” आचार्यले पौडेललाई सुभकामना दिँदै भने, ‘यहाँका नागरिक परिवर्तनको पक्षमा, सत्यको पक्षमा, विवेकपूर्ण न्यायको पक्षमा समर्पित छन् । जनपक्षीय विषयमा खरो उत्रिन सके यस क्षेत्रका बासिन्दाले नेतृत्व तिमीलाई सुम्पने छन् भन्नेमा विस्वस्त छु ।’

उनले जनचाहना अनुरुप स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा नागरिकका पक्षमा उभिएर अडान राख्न सुझाव दिएका छन् ।