आजदेखि नेपाल-भारत संयुक्तसैन्य अभ्यास, चिनियाँ जनमुक्ति सेनासँग अनिश्चित

काठमाडौँ । नेपाली र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास आजबाट शुरु हुँदैछ । नेपाली र भारतीय सेनाबीच हुने सैन्य अभ्यास ‘सूर्यकिरण’ को यो १६ औं संस्करण हो ।

सैन्य अभ्यासमा सहभागी हुन भारतीय सेनाको टोली रूपन्देहीको सालझण्डी आइपुगेको छ । नेपाली र भारतीय सैनिकको संयुक्त सैन्य अभ्यासको १५औं संस्करण गत वर्ष भारतको पिथौरागढमा भएको थियो । अभ्यास सूर्यकिरण प्रतिआतंकवाद, युद्धकला, मानवीय सहायता, प्रकृति प्रकोप, पर्यावरण संरक्षणमा केन्द्रित हुने जनाइएको छ । अभ्यास सूर्यकिरणको १३ औं संस्करण पनि पिथौरागढमा भएको थियो । १४औं संस्करण कोरोना भाइरस संक्रमणको जोखिमका कारण भएको थिएन ।

रूपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याट्ल स्कुलमा दुई मुलुकका सैन्य अभ्यास हुनेछ । सैन्य अभ्यासमा दुई मुलुकका सेनाले आतंकवाद, विपद् व्यवस्थापनलगायतका विषयमा अनुभव आदनप्रदान गर्नेछन् । सैन्य अभ्यासमा हिमाली क्षेत्रमा आतंकवादविरुद्धको लडाइँको विधि, उपकरण र प्रविधिलगायत विषयमा अभ्यास र छलफल गर्नेछन् ।

सैन्य अभ्यासमा नेपाली सेनाको तर्फबाट भवानी बक्स बटालियनका सैनिक अधिकारीहरू सहभागी हुँदैछन् । आजदेखि शुरु हुने सैन्य अभ्यास पुस १४ गतेसम्म चल्ने छ । नेपाली सेनाले अमेरिकी र चिनियाँ जनमुक्ति सेनासँग समेत सैन्य अभ्यास गर्दै आएको छ । कोरोना संक्रमणपछि नेपाली सेनाले भारत र अमेरिकासँग नियमितरूपमा सैन्य अभ्यास गरिरहेको छ । नेपाली र चिनियाँ जनमुक्ति सेनाबीचको सैन्य अभ्यास भने अहिले रोकिएको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण बढिरहेकाले नेपाली र चिनियाँ जनमुक्ति सेनाबीच सैन्य अभ्यास हुन नसकेको नेपाली सेनाका अधिकारीहरूले जनाएका छन् । चिनियाँ पक्षसँग सैन्य अभ्यासबारे नियमित छलफल भइरहे पनि मिति टुंगो नलागेको ती अधिकारीको भनाइ छ ।