काठमाडौं । सत्ता समीकरण र आगामी रणनीति तय गर्न दलहरु अहिले आन्तरिक गृहकार्यमा जुटेका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कसैको पनि स्पष्ट वहुमत नआएपछि अहिले आन्तरिक गृहकार्यमा जुटेका हुन् ।
अहिलेकै सत्ता गठबन्धनमा आबद्ध राजनीतिक दलको नेतृत्वमा नयाँ सरकार गठनको प्रयास भइरहेका बेला राज्यका महत्त्वपूर्ण पदहरुबारे कसरी भागबण्डा होला भन्ने आमचासो बढ्न थालेको छ ।
यसैक्रममा राष्ट्रपति र प्रधानमन्त्रीपछि सभामुख पदको समेत चर्चा सुरु भएको छ । दलहरुबीच शक्ति बाँडफाँड नभएपनि ती महत्त्वपूर्ण पदहरुमा आकांक्षा राख्नेहरु पनि बढ्दै जान थालेका छन् ।
निर्वाचनअघि कांग्रेस, माओवादी र समाजवादीले क्रशम राष्ट्रपति, प्रधानमन्त्री र सभामुख लिने मौखिक सहमति भएको भनिएपनि निर्वाचन परिणामले पहिलाको सहमतिअनुसार पदहरु बाडफाँट हुने नहुने निश्चित छैन ।
यही अनिश्चितताकाबीच प्रतिनिधि सभाको नेतृत्व गर्ने सभामुखमा कसले वाजी मार्ला भन्ने चासो बढेको हो । यस्तोमा सभामुखका लागि सत्ता गठबन्धनका चार नेताको नाम चर्चामा आएको छ ।
कांग्रेसबाट अर्जुननरसिंह केसी, माओवादीबाट रेखा शर्मा तथा नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे र प्रकाश ज्वालाको नाम सभामुखका लागि चर्चामा ल्याइएका छन् । यद्यपि नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित केसीले आफूले पदका कुनै दौडधुप नगरेको बताउने गरेका छन् ।
यदि माओवादीले सभामुख समेत पाउने अवस्था आए शर्मालाई अघि सार्ने तयारी गरेको पार्टीभित्रै चर्चा छ । त्यस्तै समाजवादीका उपाध्यक्ष पाण्डे हाल वागमतीको मुख्यमन्त्री छन् । निर्वाचनमा उनी धादिङ १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् । समाजवादीले सभामुख पद पाए उनै पाण्डेलाई अघि सार्ने बुझिएको छ ।



















