संसदीय दलमा लड्न गगन र शेखरबीच होला त सहमति?

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज उमेदवारी दर्ताको कार्यतालिका रहेको छ । भोलि निर्वाचन हुँदै छ । संसदीय दलको नेता बन्ने दौडमा संस्थापनइतर पक्षबाट नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा आकांक्षी छन् । संस्थापनबाट सभापति शेरबहादुर देउवा एकल आकांक्षी हुन् ।

संस्थापनइतर पक्षका नेताहरूले मिलेर अघि बढ्न डा. कोइराला र महामन्त्री थापालाई सुझाव दिएका छन् । संसदीय दलको नेता बन्नका लागि दुवैले दाबी गरेपछि १५ औँ महाधिवेशनलाई पनि दृश्यमा राखेर अघि बढ्न नेताहरूले सुझाव दिएका हुन् ।

हिजो भएको बैठकमा नेताहरूले दुईमध्ये को उमेदवार बन्ने भन्ने निष्कर्षमा पुग्न आज बिहानसम्मको समय दिएका थिए ।

अहिले हार्ने निश्चितजस्तै भएको संसदीय दलमा कोइराला र थापा दुवै लड्दा आगामी महाधिवेशनमा समेत असर पर्ने भन्दै त्यसलाई पनि हेक्का राखेर सहमतिमा पुग्न उनीहरूलाई सुझाएका थिए ।

सोमबार बिहानैदेखि दलको नेताको उमेदवार चयन गर्नेबारे कांग्रेसको संस्थापनइतरका नेताहरू चरणबद्ध छलफलमा जुटेका थिए । आज बिहान ८ बजे पुनः छलफल हुने बताइएको छ ।

महामन्त्री थापाले मंसिर ४ गते भएको निर्वाचनमा आगामी सरकारको प्रधानमन्त्रीको उमेदवार भनेर भोट मागेका थिए । उता, कोइराला पार्टीको गत महाधिवेशनमा संस्थापनइतरको नेतृत्व गर्दै सभापति पदका लागि देउवासँग प्रतिस्पर्धा गरेका थिए । थापा उनकै प्यानलबाट महामन्त्रीमा विजयी भएका थिए । त्यसैले सिनियरका हिसावले पनि आफूले मौका पाउनु पर्नेमा कोइरालाको जोड छ ।

निर्वाचन समितिले उमेदवारी दर्ताका लागि दिउँसो २ देखि ३ बजेसम्मको समय निर्धारण गरेको छ ।