काठमाडौँ। नेपाली कांग्रेसका एकजना नेता गुरूराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन्। दुई वर्ष लामो सत्ता गठबन्धन भत्काउँदै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमालेसँग मिल्न पुगेपछि घिमिरेले देउवाको राजीनामा मागेका हुन्।
मैसिर ४ को चुनावमा सत्ता गठबन्धनले करिब बहुमत ल्याएको अवस्थामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको योजनामा प्रचण्डले ठूलो झट्का दिएपछि देउवा पार्टीभित्रैबाट घेराबन्दीमा परेका हुन्।
राष्ट्रपति र प्रधानमन्त्री दुवै आफैंले राख्न खोज्दा गठबन्धन त भत्किएको छ नै सरकारको खेलमा कांग्रेस पूरै एक्लिएको छ। ओलीको नेतृत्वमा प्रचण्डलाई प्रधानमन्त्री बनाएपछि अब दुईतिहाइ जुटाउने प्रयास भइरहेको छ।
यस्तोमा घिमिरेले अब देउवाले पार्टी सभापति र संसदीय दलको नेता दुवै पद त्याग्नुपर्ने बताएका हुन्।
‘नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजीनामा दिनुपर्छ’, उनले भनेका छन्, ‘हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन? यसमा सत्तालिप्सा र भजनमण्डली कति जिम्मेवार छ।’
यदि देउवाले राजीनामा नदिएमा चाँडै पार्टीको बिशेष महाधिवेशन बोलाइने पनि घिमिरेले बताएका छन्। मंसिर ४ को निर्वाचनमा पहिलो दल बनेको कांग्रेसले प्रचण्डलाई बुझ्न नसक्दा अहिले एक्लिँदा देउवामाथि दबाब बढेको हो।


















