एकीकृत समाजवादी कसैसँग विलय हुने पक्षमा छैन : झलनाथ खनाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टी कसैसँग विलय हुने पक्षमा नरहेको बताएका छन्।

पार्टीको स्थायी कमिटीको बैठकमा खनालले एकीकृत समाजवादी कुनै पार्टीमा विलय हुने हल्ला निराधार भएको बताएका हुन्।

खनालले बैठकमा भने,’यतिबेला हाम्रो पार्टीका बारेमा कहिले यो पार्टीसँग विलय हुने र कहिले त्यो पार्टीसँग विलय हुने हल्लाहरु चलिरहेका छन्। सार्वजनिक मिडिया र छापा मिडियामा पनि यस्ता हल्ला चलिरहेका छन्।

यसबारेमा के कुरा प्रष्ट पार्न जरुरी छ भने हाम्रो पार्टी यतिबेला कसैसँग विलय हुने पक्षमा पनि छैन, कसैसँग पार्टी एकता गरिहाल्ने स्थितिमा पनि छैन । हामीले सबै पार्टीहरूको हैसियत राम्ररी देखिरहेका छौं र अध्ययन गरिरहेका छौं।’

खनालले कम्युनिस्ट एकताका लागि सँधै तयार रहेको बताए। सरकारमा सहभागिता बारे पनि खनालले धारणा राखेका छन्।

एकीकृत समाजवादीलाई सरकारमा सहभागि गराउने सत्ता साझेदार दलको इच्छा भए ससम्मान औपचारिक पत्र पठाउनुपर्ने खनालको भनाइ छ।

औपचारिक पत्र आए त्यसको सारतत्वलाई हेरेर पार्टीले संस्थागत निर्णय लिने बताए।