आज बागमतीमा जम्कट्टेल र गण्डकीमा अधिकारी मुख्यमन्त्री बन्लान् ?

काठमाडौं । वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आज नयाँ मुख्यमन्त्री नियुक्त हुने सम्भावना प्रबल छ । ती प्रदेशमा आज अपराह्न ४ बजेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ ।

वाग्मतीमा प्रदेश प्रमुख यादवचन्द्र शर्मा र गण्डकीमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २५ गते अपराह्न ४ बजेभित्र नयाँ मुख्यमन्त्रीका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि आह्वान गरिएको छ ।

वाग्मतीमा नेकपा (माओवाादी केन्द्र)का प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल र गण्डकीमा नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्री बन्ने सम्भावना छ ।

सत्ता गठबन्धनभित्र मुख्यमन्त्रीको भागबन्डा गरिँदा वाग्मती सरकारको पहिलो कार्यकालको नेतृत्व माओवादीले गर्ने सहमति भएको छ । गण्डकीमा पूरै कार्यकाल एमालेले नेतृत्व गर्ने सहमति छ ।

सोहीअनुसार वाग्मतीको मुख्यमन्त्रीका लागि गठबन्धन दलका सांसदको समर्थनमा जम्कट्टेलले दाबी पेस गर्नेछन् । गण्डकीको मुख्यमन्त्रीका लागि अधिकारीले दाबी पेस गर्नेछन् । उनीहरूले बहुमत पुर्‍याएर दाबी पेस गरेमा प्रदेश प्रमुखले आजै मुख्यमन्त्री पदमा नियुक्त गर्न सक्नेछन् ।

यसअघि, प्रदेश नम्बर–१ मा एमाले प्रदेशसभा संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् ।