काठमाडौँ । नागरिक उन्मुत्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले टिकापुर घटना बन्द कोठाभित्र नभएको बताएकी छिन् । सोमवार प्रतिनिधिसभाको बैठकमा बोल्दै पार्टीको संसदीय दलको नेता समेत रहकी श्रेष्ठले खुला स्थानमा भएको घटनालाई लिएर रेशम चौधरी र निर्दोष थारुहरुलाई थुन्ने काम भएको उल्लेख गरिन् ।
उनले भनिन्– ‘कानुनका ज्ञाता भन्छन्, वारदात स्थलमा उपस्थित नभएको ब्यक्तिलाई मुद्दा लगाउन पाइँदैन । माननीय रेशम चौधरी लगायतका निर्दोष थारुहरुको अभियोगपत्रमा उनीहरु बारदात स्थलमा उपस्थित नभएको स्पष्ट छ । रेशम चौधरी घटना भएको दिन २१ किलोमिटर टाढा लम्कीको टावरको सम्पर्कमा थिए । तर रेशम चौधरीलाई किन मुद्दा लगाइयो ?’
उनले चौधरीलाई कांग्रेस एमालेको कार्यकर्ता नभएका कारण झुटो मुद्धा लगाइएको दावी गरिन् । थारु भएकै कारण ५ वर्षदेखि मुद्धा लगाएर राज्यले उनीहरुलाई थुनामा राखेको उनले दावी गरिन् । उनीहरुले हामी यो देशको भूमीपुत्र हौँ हामीलाई थारु हुनुको परिचयमात्र मागेको उल्लेख गर्दै रिहाईको माग गरिन् ।


















