प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने/नदिने निर्णय लिन बैठक बस्दै छ । यसका लागि कांग्रेस संसदीय दलको बैठक बिहान ९ बजे बस्नेछ ।

कांग्रेसले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिन हुने वा दिन नहुनेबारे सुझाव मागेको छ । पार्टीका आन्तरिक मेसेज ग्रुपहरूमार्फत कांग्रेसले सोमबार साँझ पार्टीका विभिन्न समितिमा आबद्ध नेताकार्यकर्ताहरूसँग सुझाव मागिएको हो ।

“पुस २६ गते प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने कार्यक्रम छ । हाम्रो पार्टीको संसदीय दलको बिहान ९ बजे बस्ने बैठकबाट यसबारेमा निर्णय लिनुछ । त्यसअघि पार्टी पदाधिकारी बैठक बस्दैछ । विश्वासको मतबारे तपाईंको व्यक्तिगत राय/अथवा तपाईं आबद्ध समितिका साथीहरूको धारणा तत्कालै पठाउन यो म्यासेज गरेको छु,” कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भनेका छन् ।

उनले प्रचण्डलाई विश्वासको मत दिनु उचित हुन्छ या हुन्न ?, दिनुपर्छ तर्क के/दिनुहुन्न तर्क के ?, दिँदा र नदिँदामध्ये देश, लोकतन्त्र र कांग्रेसका लागि के उचित ? जस्ता प्रश्न गरेका छन् ।