हत्या आरोपमा फरार सूचीमा रहेका सांसदले पनि दिए प्रचण्डलाई विश्वासको मत

काठमाडौँ — हत्या अभियोगमा फरार सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन प्रतिनिधिसभामा उपस्थित भएका छन् । यसअघि पुस ७ गते सांसदको शपथग्रहणमा उपस्थित भएका कोइरी मंगलबार विश्वासको मत दिन पनि उपस्थित भएका हुन् ।

मंगलबारको बैठकमा उपस्थित २७० मध्ये २६८ सांसदले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका छन् । नेमकिपाका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले भने प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएनन् । त्यस्तै कांग्रेसका ३ सांसद भने मतदानमा अनुपस्थित रहेका थिए ।

महोत्तरी-१ बाट निर्वाचित कोइरी ०७२ को मधेस आन्दोलनका बेला सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्यासम्बन्धी मुद्दामा उच्च अदालतबाट थुनामा राख्न आदेश सुनाइएका व्यक्ति हुन् । २०७२ भदौ २५ मा आन्दोलनकारीको कुटाइबाट गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

उक्त घटनामा मुद्दा चलेपछि जिल्ला अदालत महोत्तरीले ०७६ असोज २ मा कोइरीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । जनकपुर उच्च अदालतले २०७७ मंसिर १९ मा जिल्लाको आदेश उल्ट्यायो र कोइरीलाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दियो । त्यसयता कानुनको नजरमा फरार उनी कानुन निर्माण गर्ने थलोमा निर्वाचित भएका हुन् । यसअघि सांसदको शपथ ग्रहण कार्यक्रममा कोइरीलाई पक्राउ गर्न परिचालन गरिएको भनिए पनि उनी पक्राउ भने भएनन् ।

संसद् सचिवालयले भने कोइरीलाई निलम्बन गर्नका लागि पत्र नआएको जनाएको छ । प्रहरी प्रधान कार्यालयले कोइरीलाई नियन्त्रणमा लिन सचिवालयलाई पत्र लेखेर सहयोग मागेको भने पनि उनलाई निलम्बन गर्न भने पत्र पठाएको छैन ।

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद भने निलम्बन भएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दा किनारा नलागुञ्जेलसम्म संवैधानिक व्यवस्थाअनुसार गुरुङको सांसद पद स्वत: निलम्बनमा परेको जनाएको हो ।