पृथ्वीसुब्बा गुरुङ बन्लान् त सभामुख?

काठमाडौं । आगामी माघ ५ प्रतिनिधिसभाको सभामुख चयनका लागि निर्वाचन हुँदैछ ।

संसद् सचिवालयले माघ ३ गते सभामुखको निर्वाचनको कार्यकतालिका सार्वजनिक गर्नेछ । अर्थात् सभामुखको उमेदवार माघ ३ गते नै तय भइसक्नुपर्नेछ ।

नेकपा एमाले नेकपा माओवादी केन्द्रबीच सरकार गठनका बेला भएको सहमतिअनुसार सभामुख एमालेबाट बन्नेछन् ।
सभामुखको उमेदवारबारे एमालेमा औपचारिक रुपमा छलफल भइसकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उमेदवारबारे छलफल गरिरहेको नेताहरुको भनाइ छ ।

सभामुखका उमेदवार को ?

सभामुख पद ‘डिजर्ब’ गर्ने नेताबारे विभिन्न कोणबाट विश्लेषण भइरहेको छ । एमालेमा पृथ्वीसुब्बा गुरुङसँगै छविलाल विश्वकर्मा पनि सभामुखका उमेदवार हुन् ।

प्रतिनिधिसभामा निर्वाचित उपाध्यक्षमध्ये विष्णु पौडेलले उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाइसकेका छन् ।

अर्का उपाध्यक्ष सुवास नेम्वाङले आफू पटक पटक सभामुख भइसकेकोले अब पनि ‘सोही पदमा जानु पदको लोभी हुनु हो’ भन्दै सार्वजनिक रुपमा नै अभिव्यक्ति दिइरहेका छन् । उनले आफू सभामुख नबन्ने प्रस्ट्याइसकेका छन् ।
उनले अध्यक्ष केपी शर्मा ओलीले सभामुखको उमेदवारबारे छलफल गरिरहेको बताए ।

“मैले यसअघि पनि पाँच पटक सभामुखको भूमिका निर्वाह गरिसकको छु । अब पनि त्यही पदमा जानु भनेको पदको लोभी भएको देखिन्छ । मैले यसबारे सार्वजनिक रुपमा पनि बोलिसकेको छु ,” नेम्वाङले भने, “सभामुखको उमेदवारबारे अध्यक्षजीले छलफल गरिराख्नुभएको छ ।”

नेम्वाङले राष्ट्रपतिमा दाबी गरिरहेका छन् ।

अन्य उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, रामबहादुर थापा चुनाव नै लडेनन् । एमालेका पदाधिकारीमा वरिष्ठताका आधारमा हेर्दा महासचिव शंकर पोखरेल पराजित भए ।

उपाध्यक्षपछि निर्वाचन जितेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ हुन् । उपहासचिव प्रदीप ज्ञवाली पराजित भए भने अर्का उपमहासचिव विष्णु रिमालले चुनाव नै लडेनन् ।

यसरी हेर्दा एमालेमा सभामुख पृथ्वीसुुब्बा गुरुङ बन्नुपर्ने नेताहरु बताउँछन् । उनले पार्टीले निर्णय गरे आफू सभामुख बन्न तयार रहेको र कुशलतापूर्व जिम्मेवारी निर्वाह गर्ने निकटस्थलाई बताइरहेका छन् ।

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री रहेका गुरुङ नेकपा माओवादीका महासचिव देव गुरुङलाई पराजित गर्दै लमजुङबाट प्रतिनिधिसभामा निर्वाचित भए ।

वरिष्ठता र अनुभवका आधारमा गुरुङले आफूलाई सभामुखको उमेदवारको रुपमा प्रस्तुत गरिरहेका छन् ।

“सभामुखबारे पार्टीमा औपचारिक छलफल त भएको छैन । सिनियरको हिसाबले हेर्दा उहाँ नै सभामुख बन्नुपर्ने हो,” एमालेका एक पदाधिकारी भन्छन् ।

सभामुखमा सचिव विश्वकर्माको चर्चा पनि भइरहेको छ । एमालेमा एक मात्रै निर्वाचित दलित सांसद भएकाले सभामुख बनाउनुपर्ने मत छ ।

“सचिवमा छविलालजी भन्दा अरु सिनियरहरु पनि हुनुहुन्छ । उहाँको भन्दा अघि तीनजना सचिव पर्छन् । त्यसैले वरिष्ठताका आधारमा निर्णय गर्ने हो भने उहाँको सम्भावना कम छ,” ती पदाधिकारीले बाह्रखरीसँग भने ।

विश्वकर्मा एमाले छाडेर स्वतन्त्र उमेदवार बनेका घनश्याम भुसाललाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् ।

उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिएकाले शंकाको अवस्था भने पैदा भएको ती पदाधिकारीको भनाइ छ ।