सभामुख निर्वाचनबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस पदाधिकारी बैठक बोलाएका छन्। आज बुधबार बिहान ९ बजे देउवा निवास धुम्बाराहीमा पदाधिकारी बैठक बोलाइएको कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले बताए ।

बैठकमा सभामुखमा उम्मेदवारीबारे निर्णय हुने उनको भनाइ छ । सर्वदलीय बैठकमा सभामुखबारे कुनै सहमति नभएकाले कांग्रेसले पनि उम्मेदवारी दिने सम्भावना छ । प्रतिनिधिसभाका सभामुखको निर्वाचन माघ ५ गते बिहान ११ बजे गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

संघीय संसद्को पहिलो बैठक बसेको १५ दिनभित्र प्रतिनिधिसभाका सदस्यमध्येबाट सभामुख निर्वाचित गर्ने संवैधानिक व्यवस्था छ । सभामुख र उपसभामुखमध्ये एकजना महिला र फरक दलको हुनुपर्नेछ ।