क्यासिनो आगलागीमा ज्यान गुमाएका पाण्डेको शव आज नेपाल आइपुग्ने

काठमाडौं । कम्बोडियाको पोइपेट सहरमा रहेको ग्रान्ड डायमन्ड सिटी होटल (क्यासिनो)मा गत पुस १५ गते बिहान आगलागीमा परी ज्यान गुमाएका झापा बिर्तामोडका निराकार पाण्डेको शव शुक्रबार राति नेपाल आइपुग्ने भएको छ ।

क्यासिनोमा आगलागी हुँदा होटेलको १२ औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा पाण्डेको ज्यान गएको थियो ।

कम्बोडियामा सरकारी पक्षबाट शवको प्रमाणीकरण नहुँदा शव ल्याउन ढिलाइ भएको थियो । तर, शव ल्याउने प्रक्रियाका लागि नेपालबाट पाण्डेको आवश्यक कागजात पठाएसँगै कम्बोडियाले शवको प्रमाणीकरण गरेपछि उनको शव शुक्रबार थाइल्यान्ड हुँदै नेपाल ल्याइने बताइएको छ ।

निराकारका बुवा अग्नि पाण्डेका अनुसार थाइल्यान्डबाट नेपाल एयरलायन्समा उनको शव नेपाल ल्याइँदै छ । शव शुक्रबार (आज) राति १०ः३० बजे काठमाडौं आइपुग्ने र राति नै शव झापा लैजाने तयारी गरिएको छ ।

निराकारको मृत्युपछि दुःख व्यक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिटो शव नेपाल ल्याउन सरकारी अधिकारीलाई नै निर्देशनसमेत दिएका थिए ।

शव नेपाल ल्याउन सरकारले नै खर्च व्यहोर्ने निर्णयसमेत भएको छ । सरकारको निर्णयानुसार सरकारी प्रक्रियाबाटै उनको शव नेपाल ल्याउन लागिएको हो ।

शव नेपाल ल्याउन कम्बोडियासमेत हेर्ने थाइल्यान्डस्थित नेपाली दूतावासले आवश्यक समन्वय गरिरहेको छ । दूतावासलाई एनआरएनए कम्बोडियाले सहजीकरण गरिरहेको बताइएको छ ।