रोनाल्डोको टिमविरुद्ध मेस्सीको पीएसजीको रोमाञ्चक जित

काठमाडौं । साउदी अरेबिया भ्रमणमा रहेको लियोनल मेसीको क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले बिहीबार राति क्रिस्टियानो रोनाल्डोको क्लब रियाद–११ विरुद्ध ५–४ को रोमाञ्चक जित निकालेको छ ।

साउदी अरबको किङ फहाद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा पीएसजीलाई जित दिलाउन लियोनल मेसी, मार्किन्होस, सर्जियो रामोस, काइलियन एमबाप्पे र ह्युगो एकिटिकले गोल गरे । रियाद–११ बाट रोनाल्डोले दुई र ह्युन सो जाङ र एन्डरसन टालिस्काले एक–एक गोल फर्काएका थिए ।

खेलको तेस्रो मिनेटमा मेसीले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । मेसीले नेइमारले निकालेको पासलाई पोस्टको दिशा दिएका थिए ।

तर, ३४औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै रियाद–११ लाई खेलमा फर्काएका थिए । पीएसजीका गोलकिपर किलर नाभासले रोनाल्डोमाथि नै फाउल गरेपछि रियाद–११ ले पेनाल्टी पाएको थियो । जसमा रोनाल्डोले कुनै गल्ती गरेनन् ।

४३औँ मिनेटमा कप्तान मार्किन्होसले गोल गर्दै पीएसजीलाई पुन: अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा पीएसजीले पेनाल्टी पाएपनि नेइमारले त्यसमा गोल गर्न नसक्दा अग्रता बढाउने सुनौलो अवसर खेर फालेको थियो । रियाद–११ का रक्षकले आफ्नो पेनाल्टी क्षेत्रमा नेइमारलाई नै लडाएपछि पीएसजीले पेनाल्टी पाएको थियो ।

यस्तै, इन्जुरी समयम रोनाल्डोले नै गोल गर्दै रियाद–११ लाई २–२ को बराबरीमा फर्काएका थिए । रोनाल्डोको हेडर पोस्टमा लागेर फर्किंदा पीएसजीका खेलाडीले ‘क्लियर’ गर्न नसकेको बल रोनाल्डो आफैले सदुपयोग गरेका थिए ।

५४औँ मिनेटमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई पुन: ३–२ को अग्रता दिलाएका थिए । तर, त्यसको तीन मिनेटपछि नै ह्युन सो जाङले गोल गर्दै रियादलाई खेलमा फर्काएका थिए ।

६०औँ मिनेटमा काइलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ४–३ को अग्रतामा राखेका थिए । मेसीले गरेको प्रहार रियाद–११ का रक्षकको हातमा लागेपछि पीएसजीले पेनाल्टी पाएको थियो । जसमा एमबाप्पेले कुनै गोल गरेनन् ।

यस्तै, ७८औँ मिनेटमा ह्युगो इकिटिकले गोल गर्दै पीएसजीको अग्रतालाई ५–३ को अवस्थामा पुर्याएक थिए । इकिटिक ६३औँ मिनेटमा एमबाप्पेको स्थानमा मैदाम प्रवेश गरेक थिए ।

खेलको इन्जुरी समयमा टालिस्काले गोल गर्दै रियाद–११ लाई खेलमा फर्काउन खोजेपनि पीएसजी ५–४ ले विजयी भयो ।

त्यसअघि ३९औँ मिनेटमा जुआन बेर्नेटले रातो कार्डको दर्शन गर्दै मैदामबाट बाहिरिएपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो ।

खेलको ६० मिनेटपछि रियाद–११ ले रोनाल्डो र पीएसजीले मेसी, नेइमार, एमबाप्पेसंगै अन्य शीर्ष खेलाडीलाई सब्सिच्युट गरेको थियो ।

मेसी र रोनाल्डो सन् २०२० को डिसेम्बरपछि खेलेका हुन् । यी दुईबीचको पछिल्लो खेलमा इटालियन क्लब युभेन्ट्सबाट रोनाल्डो र मेसी स्पेनिस क्लब बार्सिलोनाबाट खेलेका थिए । यो खेलमा रोनाल्डोको टिम युभेन्ट्सले ३–० को जित निकालेको थियो ।