वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताएका छन् ।

शुक्रबार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रम मन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताएका हुन् । उनले वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा रहेका धेरै विकृति विसङ्गतिहरू रोक्न व्यवसायीहरूको सहयोगको आवश्यकता रहेको उल्लेख गरे ।

समय अनुसार वैदेशिक रोजगार व्यवसायलाई सम्मानित, पारदर्शी, प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरूलाई निरूत्साहित गर्ने प्रक्रियामा केही प्रगति भइरहेको उनले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले हरेक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ सुरुवात गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगार व्यवसायीहरूले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरूलाई रोक्न सहयोग गर्न आग्रह गरे । उनले व्यवसायीहरूले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको पनि बताए ।