भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँबीच आज शिष्टाचार भेटवार्ता भएको छ ।
भक्तपुरको कमलविनायकस्थित बिजुक्छेँ निवास पुगेकी राष्ट्रपति भण्डारीले खुसी व्यक्त गर्दै भनिन्, “मलाई आज माइती आएजस्तै लागेको छ । म धेरै खुसी भएको छु ।”
उनले क्यान्सर रोगका कारण निधन भएकी बिजुक्छेँपत्नी शोभा बिजुक्छेँको निधनप्रति दुःख व्यक्त गर्दै समवेदना प्रकट गरिन् ।
भेटमा बिजुक्छेँले मानिसको जीवनलाई चाहिने अत्यावश्यक औषधि अभावमा मृत्यु हुन नपरोस् भन्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने बताए ।
“औषधिजस्तो अतिसंवेदनशील वस्तुको व्यवस्था राज्यले गर्नुपर्छ । औषधि अभाव भएर मृत्यु हुने अवस्था देशमा अन्त्य हुनुपर्छ । सरकारले अत्यावश्यक औषधि देशमै उत्पादन गर्नुपर्यो,” उनले भने, “देशलाई चाहिने औषधि उत्पादन गर्न सक्ने र अत्यावश्यक औषधिको व्यवस्था गर्न सक्ने गरी औषधि व्यवस्था विभागले काम गर्नुपर्यो ।”

















