डडेल्धुरामा वर्षा र हिमपातले दैनिकी कष्टकर

डडेल्धुरा–डडेल्धुरामा अत्याधिक चिसो बढेसँगै जनजीवन प्रभावित बनेको छ । सोमबार साँझदेखि परिवर्तन भएको मौसमसँगै मंगलबार बिहानैदेखि भएको वर्षातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित बनेको हो ।

मौसममा बदली आएसँगै सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ । वर्षा र हिमपातका कारण चिसो बढेको छ ।

चिसोले गर्दा बिहान बेलुका दैनिकी काम गर्नसमेत समस्या भएको स्थानीयको भनाइ छ । चिसोबाट जोगिन स्थानीयहरु अहिले आगो तथा हिटर बालेर बसिरहेका छन । मंगलवारदेखि भएको लगातारको झरीका कारण चिसो बढेर घरबाहिर निस्कन समस्या भएको छ भने बालबालिकाको पढाइसमेत प्रभावित भएको स्थानीय हरि साँउदले बताए ।

जिल्लाका केही स्थानमा हिजोदेखि नै हिमपात भएको र केही स्थानमा आज हिमपात भएको जनाइएको छ । जिल्लाको उच्च लेकाली भेगमा हिमपात भएपछि चिसो बढेको स्थानीय बताउँछन् । वर्षा र हिमपातका कारण जनजीवन प्रभावित बनेको छ, भने टोल टोलमा स्थानीयवासी चिसोबाट बच्न आगो ताप्दै बसिरहेका छन् । जिल्लाका ग्रामीण क्षेत्रमासमेत चिसो बढेको छ भने दैनिकी पनि प्रभावित भएको स्थानीय गणेश पाठक बताउँछन् ।

चिसोमा भाईरस सक्रिय हुने भएकाले चिसोबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने र लगातार रूघाखोकी लागेमा वा स्वास्थ्यमा थप समस्या आएमा नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गर्न स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् ।

चिसो समयमा बढी जसो बालबालिकाहरूमा रूघाखोकी, निमोनिया लगायतको समस्या हुने भएकाले घरपरिवारका सदस्यहरूले हेरचाहमा विशेष ध्यान दिनु पर्ने चिकित्सकको भनाइ छ । चिसोको समयमा भाइरस सक्रिय भएर बालबालिका र बृद्धबृद्धाहरूलाई असर पार्ने भएकोले चिसोबाट बच्न न्यानो लुगा लगाउने, तातो, झोलिलो खानेकुरा खानु पर्ने र सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकको सुझाव छ । सुदूरपश्चिमका पहाडी जिल्लाका विभिन्न स्थानमा हिमपात भएको छ ।

वर्षा र हिमपातले यहाँका किसान भने हर्षित भएका छन् । लामो समय खडेरीका कारण हिउँदेबाली सुक्न लागेको बेला वर्षा र हिमपातले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । लामो समयपछि वर्षा भएकाले हिउँदे बाली र फलफूल सप्रिने आशा पलाएको किसानहरु बताउँछन् ।