मकवानपुर । बागमती प्रदेश सरकारले आज मन्त्रिपरिषद् विस्तार गरेको छ । नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेशको मुख्यमन्त्री शालिकराम जम्कट्टेलको उपस्थितिमा आज प्रदेश प्रमुख यादवचन्द्र शर्माले आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गङ्गा नारायण श्रेष्ठ,वन तथा वातावरण मन्त्रीमा राजु बिष्ट, पर्यटन, उद्योग तथा सहकारी मन्त्रीमा डम्बर तामाङ, खानेपानी, उर्जा तथा सिंचाई मन्त्रीमा उद्दव थापा, भौतिक पूर्वाधार विकास मन्त्रीमा युवराज दुलाल, कृषि तथा पशुपन्छी विकास मन्त्रीमा केशव पोख्रेललाई शपथ खुवाएका हुन् ।
यसैगरी श्रम रोजगार तथा यातायात मन्त्रीमा एकालाल श्रेष्ठ, स्वास्थ्य मन्त्रीमा रामेश्वर श्रेष्ठ, सामाजिक विकास मन्त्रीमा कुमारी मोक्तानलाई नियुक्त गरिएको हो । सबै मन्त्रीहरूले शपथ लिएका छन् ।
प्रदेश सरकारमा सहभागी ५ मध्ये ३ दलले मन्त्रालयहरू पाएका छन् । १७ दिन अघि मन्त्रालय घटाउन गठित कार्यदलले दिएको सुझाव अनुसार बागमतीमा १४ बाट घटाएर ११ मन्त्रालय बनाईएको हो । यससँग बागमती प्रदेशमा सरकारले पूर्णता पाएको छ । सरकारमा सहभागी एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी भने मन्त्रालयको दाबीबाट पछि हटेका छन् । प्रदेशमा एमाले र माओवादी केन्द्रले ४/४ र राप्रपाले ३ मन्त्रालय पाएका हुन । प्रदेशमा सभामुख राप्रपाले र उपसभामुख एमालेले यस अघि नै पाइसकेको छ ।


















