काठमाडौँ । संसद भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका जायज मागहरुलाई समर्थन गर्दै युवाहरुले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका छन् ।
जस्टिस फर प्रेम आचार्य अभियान सुरु गर्दै युवाहरूले राज्यकै कारण युवाहरू मृत्युवरण गर्न बाध्य भएको भन्दै प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूलाई राज्यले सम्बोधन गर्नुपर्ने र न्याय दिनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।
उनीहरुले अर्को जल्दो शरि मेरो नहोस, यो आत्महत्या होइन हत्या हो, देशको लागि केही गर्छु भन्नु अपराध हो? , यो देश होकी बधशाला ? लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
प्रदर्शनका क्रममा उनीहरुले एक नागरिकले जीवन जिउनका लागि गर्ने संघर्षलाई राज्यले कदर गर्नुपर्ने बताएका थिए । उनीहरूले देशमा रोजगारी लगायतका जीवनयापनका लागि सहज वातावरण बनाउन नसके खाडीको भिसा दिनुपर्ने बताए ।
त्यस्तै पदका लागि नलडी ५ बर्षमा देशको बिकास गरेर देखाउन उनीहरुले आग्रह गरेका छन् । युवाहरुले परिवर्तनको सुरुवात गर्न नेताहरुलाई सुझाव दिँदै परिवर्तन गर्न नसके पद छाड्न पनि सुझाव दिएका छन् ।
मंगलबार दिउँसो बानेश्वरको संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको बुधबार उपचारका क्रममा निधन भएको थियो ।


















