राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आपतकालीन केन्द्रीय समितिको बैठकले उपसभापति तथा श्रममन्त्री डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। सभापति रवि लामिछानेको पद अदालतले खारेज गरेसँगै सो जिम्मेवारी अर्याललाई दिइएको हो।
महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार संसदीय दलको नेता पनि अर्याल नै चुनिएका छन्। 3पार्टी कार्यालय बसुन्धरामा बसेको बैठकले अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको हो।
सो निर्णयबारे आइतबार निर्वाचन आयोगलाई जानकारी दिइने ढकालले बताए। पछिल्लो परिस्थितिबारे शनिबार कानुनविदसँग छलफल गर्ने निर्णय भएको उनले जानकारी दिए।
‘अहिले सर्वोच्चबाट आएको फैसलालाई कार्यान्वयन गरेर अब शनिबार कसरी जाने भन्नेबारे कानुनविदसँग कुरा गर्ने निर्णय भएको छ,’ डाक्टर मुकुलले भने।
सर्वोच्च अदालतले शुक्रबार लामिछाने गैरनागरिक रहेको ठहर गरेको थियो। यससँगै उनी मन्त्री, सांसद र पार्टी सभापति पदका लागि अयोग्य भएका थिए।


















